Listen Live

विद्युत् बक्यौता रु चौध करोड
Posted On: Aug 12, 2016

पोखरा, २७ साउन । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रमा विद्युत् बक्यौता रु १४ करोड सात लाख नौ हजार पुगेको छ ।
प्राधिकरणको सबैभन्दा बढी सडक बत्तीको रु १० करोड ९५ लाख २५ हजार रहेको छ । बक्यौता भुक्तानीका लागि पोखरा उपमहानगरपालिकालाई बारम्बार ताकेता गरेता पनि भुक्तानी हुन नसकेको केन्द्रका सहायक लेखापाल द्रोणराज बरालले जानकारी दिनुभयो ।
समयमा विद्युत् महसुल नतिरी लाइन काटिएका ८५० ग्राहकसँग रु ६७ लाख नौ हजार बक्यौता रहेको छ । लाइन काटिएको छ महिनासम्म पनि विद्युत् महसुल नबुझाउने ग्राहकलाई प्राधिकरणले कालोपाटीको सूचीमा राख्ने गरेको छ । सो सूचीमा पर्ने ग्राहकका तीन पुस्तेसम्मकाले नयाँ विद्युत् लाइन नपाउने बताइएको छ ।
गृहमन्त्रालयअन्तर्गत पोखरास्थितका कार्यालयमा रु एक लाख ७२ हजार ५६५ र अदालतमा रु ८० हजार विद्युत् बक्यौता रहेको बताइएको छ । 

 

Comments