Listen Live

नेविसंघ महाधिवेशन प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप
Posted On: Aug 15, 2016

काठण्डौ, ३० साउन ।
नेविसंघ महाधिवेशन प्रतिनिधि विवाद चर्किएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । झडपमा प्रहरी र नेविसंघ कार्यकर्ताहरु घाइते भएका छन् । सुरक्षामा खटिएका एक प्रहरीको टाउकोमा चोट लागेको छ । झडपमा १ दर्जन भन्दा बढी घाइते भएका छन् । फर्जी प्रतिनिधि खारेजको माग गर्दै रामचन्द्र पौडेल पक्षले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । नक्कली प्रतिनिधिहरु समावेश गरिएको भन्दै रामचन्द्र पौडेल पक्षले महाधिवेशनको निर्वाचन प्रक्रिया खारेज गर्न माग गरेपछि विवाद चर्किएको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेविसंघ नेता दीपक भट्टराईले भने, ‘हाम्रो पार्टीको कार्यालय हो की प्रहरी कार्यालय हो छुट्याउनै गाह्रो छ ।’ उनले आफूहरुलाई पनि पार्टी कार्यालयभित्र प्रवेशमा रोक लगाइएको गुनासो गरे । नौ वर्षपछि आयोजित नेविसंघको एघारौं महाधिवेशन यही साउन २३ गते भृकुटीमण्डपमा भएको थियो । तर, प्रतिनिधि विवादले बन्दसत्र अझै सुरु हुन सकेको छैन । बन्दसत्रमा ढिलाइ भएपछि नेतृत्व चयन प्रक्रियालगायतका बाँकी काम कांग्रेस केन्द्रीय कार्यालयबाट अघि बढेको थियो ।

 

Comments