Listen Live

निजगढ विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु
Posted On: Aug 12, 2016

वीरगंज २७ साउन ।
बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु भएको छ । सरकारले पहिलो चरणमा ११० बिघा क्षेत्रफलको जग्गा अधिकरण प्रक्रिया अगाडि बढाएको हो । १८ वर्ष अघिदेखि विमानस्थल निर्माणको चर्चा सुरु भए पनि बल्ल निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको हो ।

प्राधिकरणबाट गर्ने प्रक्रिया सकिएको र अब स्थानीयस्तरमा कसले कति पाउने भनेर अध्ययन गर्ने र वितरण गर्ने काम प्रमुख जिल्ला अधिकारीअन्तर्गत रहने समितिले गर्नेछ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजना कार्यालयका उपप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पहिलो चरणमा नम्बरी जग्गा ११० बिघाको मुआब्जा वितरण प्रक्रिया अगाडि बढेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा यसका लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याएकाले तत्काल सोही रकमबाट मुआब्जा वितरण हुने निरौलाले बताउनुभयो ।

विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ११ हजार ७७५ बिघा जग्गामध्ये ७५० बिघा जग्गामा १ हजार ४ सय घरधुरी भने सुकुम्बासी बस्ती रहेको छ । व्यक्तिको नाममा दर्ता भएको जग्गाको मुआब्जा वितरण सहज भए पनि सुकुम्बासीको विषयमा भने राजनीतिक निर्णय आवश्यक रहने निरौलाले बताउनुभयो ।

 

Comments